2077-06-27 मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइँदै

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राति अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो ।

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए । उनका अनुसार दुबै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् ।

मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय आविष्कार केन्द्रले गर्नेछ ।

सम्झौता कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए । उनले अनुसन्धानको जग बसाउने काम सुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए ।

आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । उनले सिर्जनशील र प्रतिभाशाली व्यक्ति अनुसन्धान गरेर उद्यमी बन्न सक्ने उनले बताए । उनले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने बताए ।

सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा.सुवास श्री पोखरेल, नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतको भर्चुअल उपस्थिति थियो ।